logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भिडन्तका क्रममा घाइते भएका रुसी बक्सर दादाशेभको निधन


अंकुरण खबर
2.184K
Shares

रुसी मुक्कबाज (बक्सर) म्याक्सिम दादाशेभको उपचारका क्रममा निधन भएको छ । २८ वर्षीय दादाशेभको मंगलबार उपचारका क्रममा निधन भएको हो ।

गत शुक्रबार एउटा बक्सिङ प्रतियोगिताका क्रममा दादाशेभ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि तत्काल अस्पताल भर्ना गरिएको थियो ।

गत शुक्रबार मेरिल्याण्डमा पुर्तो रिकोका खेलाडी सुब्रियल म्याटियस र दादाशेभबीच प्रतिस्पर्धा भएको थियो । उक्त भिडन्तमा म्याटियसले प्रहार गरेको मुक्काका कारण दादाशेभको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।

म्याटियसले बारम्बार प्रहार गरेको मुक्काबाट रिङभित्रै दादशेभको अवस्था नाजुक भएपछि उनका प्रशिक्षक बडी म्याकग्रीटले ११ औं राउन्डमा खेल रोकेका थिए । खेल रोकिएपछि दादशेभले वान्ता गर्दै होस नै गुमाएपछि उनलाई सहयोगीहरुले सहारा दिंदै ड्रेसिङ रुमसम्म लगेका थिए ।

दादाशेभलाई तत्कालै स्थानीय हस्पीटलमा भर्ना गरी टाउकोको आपत्कालीन अपरेशन गरिएको थियो । मस्तिष्कमा अत्याधिक रक्तश्राव भएपछि अपरेशन गरिएको र सोही क्रममा उनी अचेत हुने पुगेका थिए ।

रसियाको सेन्ट पिटसबुर्गका स्थायी बासिन्दा दादाशेभलाई व्यवसायिक बक्सिङमा निकै सफल मानिन्छ । उनले मृत्यु हुनुपूर्व खेलेका १४ खेलमध्ये १३ मा जित हात पारेका थिए । १३ मध्ये १० खेलमा विपक्षीलाई नकआउट गरेर जित हात पारेका थिए ।

तर दादाशेभ १४ औ र अन्तिम खेलमा म्याटियससँग पराजित हुन पुगे र चोटका कारण कलिलो उमेरमा उनको निधन भयो। उनको निधनले धेरैलाई स्तब्ध पारेको छ । एजेन्सी-