logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेपाली राजदुतद्वारा ध्यानाकर्षण: नेपालले ‘विषादीजन्य’ तरकारी रोक्दा भारतले ‘औषधिजन्य’ वस्तुमा लगायो रोक


अंकुरण खबर
1.547K
Shares

नेपालले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न थालेपछि भारतले नेपालबाट निर्यात हुने जडिबुटीमा विभिन्न बहानामा रोक लगाएको छ । जनस्वास्थ्यमा नकारात्मक असर गर्ने विषादीजन्य तरकारी तथा फलफूल भित्रिन नदिन नेपालले कडाइ गर्दा भारतले भने औषधिजन्य जडिबुटीमा ‘प्रतिक्रिया’स्वरुप कडाइ गर्नु अनौठो मानिएको छ ।

भारतले पाखनवेद, चिराइतो, अमला, सिकाकाइलगायत ६० भन्दा बढी किसिमका जडिबुटीमा रोक लगाएको हो । भारतले संशोधित प्लान्ट क्वारेन्टाइनको सूचीमा नपरेको भन्दै ती जडिबुटीमा रोक लगाएको हो । भारतीय अवरोधका कारण १५ टनभन्दा बढी जडिबुटी नेपालका गोदाममा थन्किएका छन् ।

जडिबुटी निकासीमा भारतीय पक्षबाट भएको कडाइका विषयमा दुवै मुलुकबीच कुटनीतिक माध्यमबाट निकास खोज्ने पहल भइरहँदा नेपालले भारतबाट आउने तरकारी र फलफूलमा विषादी परीक्षण थालेपछि यो विषय थन्किएको हो । हाल भारतले नेपालको पछिल्लो निर्णयकै ‘प्रतिक्रिया’स्वरुप जडिबुटीमा रोकसम्बन्धी निर्णय कडाइका साथ लागू गरिरहेको छ ।

यसै विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँग छलफल गरेका छन् । उनले पूर्ववत अवस्थामा नेपाली जडिबुटीलाई भारत प्रवेश अनुमतिका लागि मुख्यमन्त्री आदित्यनाथको ध्यानाकर्षण गरेका थिए ।

बुधबार मुख्यमन्त्री निवासमा भएको भेटवार्तामा राजदूत आचार्यले ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री आदित्यनाथले यसबारे चाँडै समाधान निकाल्ने आश्वासन दिएको भारतीय दैनिक अखबार हिन्दूस्तान टाइम्सले जनाएको छ ।