अमेरिकाले मृत्युदण्डको सजाय पुनः सक्रिय गराएको छ । विगत १६ वर्षदेखि अमेरिकामा मृत्युदण्डको सजाय निष्क्रिय थियो । तर बिहीबारदेखि अमेरिकाको न्याय विभागले यसलाई सक्रिय पारेको हो ।
अब संघीय सरकारले मृत्युदण्डको सजाय दिन सक्छ । सजाय सक्रिय गरिए लगत्तै पाँचजनालाई फासीको सजाय दिने तय भएको छ ।
अमेरिकाका महान्यायाधीवक्त विलियम बारले वक्तव्यमा भनेका छन्, ‘कंग्रेसले स्पष्ट रुपमा मृत्युदण्डलाई स्वीकृति दिएको छ । कंग्रेसका दुवै सदनका सदस्यको स्वीकृतिमा कानून तयार भएको हो र राष्ट्रपतिले यसमा हस्ताक्षेर गर्नु भएको छ ।’ न्याय विभाग कानूनी शासन स्थापनाका लागि प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन् ।
अमेरिकामा संघीय अपराधीलाई पछिल्लो पटक सन् २००३ मा फासी दिइएको थियो । विशेष गरी लागुऔषध कारोबारी तथा अन्धाधुन्ध गोली चलाइ आम हत्या गर्नेलाई मृत्युदण्ड दिने गरिएको थियो।
राष्ट्रपति ट्रम्पले लागुऔषध कारोबार रोक्न तथा आमहत्या गर्नेलाई निरुत्साहित पार्नका लागि मृत्युदण्डलाई सक्रिय बनाउनु पर्ने माग गर्दै आएका थिए ।