नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको बताएका छन् ।
सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको उनले बताएका हुन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’को दुई दिने सम्मेलनको उद्घाटनमा अध्यक्ष प्रचण्डले समाजवाद निर्माणका लागि क्युबाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रसंसा गरे । क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिस्टहरुको आदर्श भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिस्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि उनको भनाइ छ ।
अध्यक्ष दाहालले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अब समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।