logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्ने कानुन ल्याउन सरकारसँग माग


अंकुरण खबर
962
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस सांसद कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई फेरि सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने गरी बर्खास्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्‍चालन र शर्तको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा बोल्दै लिँदै सेवाग्राहीलाई सेवा दिन बसेको कर्मचारीले मदिरा सेवन गरेर कार्यालयमा काम गर्न नसक्ने हुनाले उसलाई सो सेवाबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ ।

यता, सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले भने मदिरा सेवन गर्ने कर्मचारीलाई पदबाटै बर्खास्त गर्नुपर्ने कांग्रेस सांसद कँडेलको मागप्रति असहमति जनाए । उनले परिस्थितिलाई हेरेर त्यस्ता कर्मचारीहरुलाई पनि सुधार गर्ने अवसर सहितको कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दण्डित गर्नुपर्ने कर्मचारीलाई कारबाही नगर्ने पदाधिकारीलाई पनि कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकार तयार रहेको बताए । मन्त्री पण्डितले गल्ती गर्ने कर्मचारीलाई सरकारले आवश्यक सजायको व्यवस्था गर्ने पनि बताए ।