logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले आफूले बनाएका बाँधका कारण नेपालको भूमि डुबानमा परेको स्वीकारेको छ : परराष्ट्रमन्त्री


अंकुरण खबर
1.287K
Shares

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतले आफूले बनाएका बाँधका कारण नेपालको भूमि डुबानमा परेको स्वीकार गरेको बताएका छन् । ३ वर्षअघि दुई मुलुकबीचको प्राविधिक टोलीले तयार पारेको डुबान समस्या समाधनसम्बन्धी प्रतिवेदनमा भारतले आफ्ना कारण नेपालको भूमि डुबानमा परेको स्वीकार गरेको स्पष्ट पारेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘बाँध, बाढी र डुबान’ विषयक बहस कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले तराईमा हुने डुबानको समस्याको दीर्घकालीन समाधानका लागि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने पनि प्रतिवद्धता जनाए । नेपाल-भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

भारतले निर्माण गरेका बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला मन्त्री ज्ञवालीले सो समस्या समाधान गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री ज्ञवालीले डुबानको समस्या समाधान गर्दा द्धिपक्षीय हितलाई नै ध्यानमा राखेर अघि बढनुपर्ने पनि स्पष्ट पारे । उनले दुई मुलुकबीचको डुबान समस्या समाधानका लागि अब बस्ने मन्त्रीस्तरीय बैठकमा छलफल गर्ने समझदारी गरिएको पनि जानकारी दिए।

अब छिट्टै बस्ने दुई मुलुकबीचको परराष्ट्र मन्त्रीस्तरीय बैठकले सो समस्याको दीर्घकालीन समाधान खोज्ने मन्त्री ज्ञवालीको विश्वास छ। साथै मन्त्री ज्ञवालीले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकलाई प्रभावकारी ढंगले राहतको व्यवस्था गर्न सरकारले छुट्टै विपद् व्यवस्थापन प्राधिकरण बनाउने तयारी गरिरहेको पनि बताए।