logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्मला हत्या प्रकरण, सबैले दिलीप विष्ट नै हो कि भन्दैछन् : गृहमन्त्री थापा


अंकुरण खबर
2.106K
Shares

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको बताएका छन् ।

संसदको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको सोमबार बसेको बैठकमा बोल्दै गृहमन्त्री थापाले पुराना सबै अनुसन्धानका विधि फेल खाएपछि अहिले नयाँ सूत्र अपनाएको बताएका हुन् । ‘हामीले विभिन्न कमिटि बनायौँ सुरुदेखि नै तर असफल भए । अपराधीलाई कानुनको कठघरामा ल्याउन सकेनन्’, थापाले भने, ‘यो प्रकरणमा सरकारले आफ्नो काम गरिरहेको छ ।

गृहमन्त्री थापाले २०७५ साउन १० गते गाउँमै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा प्रहरीको हिरासतमा २५ बसेर छुटेका दिलीपसिंह विष्टको नाम फेरि आउन थालेको बताए। ‘निर्मला हत्याकाण्डमा सबैले दिलीपसिंह विष्ट नै होकि भनिरहेका छन्,’ गृहमन्त्री थापाले भने, ‘उसको बयानले पनि त्यही देखाउँछ । तर अनुसन्धान चलिरहेको छ।’ मन्त्री थापाले कोही पनि हाइप्रोफाइललाई जोगाउन निर्मला प्रकरण नमोडिएको दाबी गरे । गृहमन्त्री थापाले यो प्रकरणमा सयौँ व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको बताए ।

‘हामीले सयौँ व्यक्तिलाई अनुसन्धानका क्रममा बोलाएका थियौँ। डिएनए म्याच नभएर रिहा भएका हुन्’, उनले भने, ‘अन्य सबै कुरा मिल्दा पनि डिएनए मिलेन । अहिले यो घटनालाई लिएर सार्वजनिक बहस भइरहेका छन् । सार्वजनिक बहसले समस्या हल हुँदैन। सुझाव त पुग्छ तर अनुसन्धान आफ्नै गतिमा अघि बढेको छ।’ त्यसअघि समितिको बैठकमा उपस्थित सांसदहरुले गृहमन्त्रीलाई निर्मला प्रकरणमा हाइप्रोफाइल अभियुक्तलाई लुकाउन भनेर सोधेका थिए । उनीहरुले यदि दिलीपसिंह विष्ट दोषी भएको भए छाड्नुको कारणबारे प्रश्न गरेका थिए ।

सांसदहरुले भनेका थिए, ‘बयानमा बोल्दा पनि किन पक्राउ गरिएन ?’ बैठकमा गृहमन्त्री थापाले समितिका सभापति रामनारायण बिडारीलाई निर्मला प्रकरणबारे भएको अनुसन्धानको प्रति बुझाएका थिए । समितिलाई अनुसन्धानको प्रति बुझाउँदै गृहमन्त्री थापाले बाहिर प्रकाशन नगर्न आग्रह गरेका थिए ।