मौसम
काठमाडौं । नेपालका कतिपय स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना छ । अधिकांश भेगमा भने सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।
आज दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
देशभर वर्षाको ठूलो प्रणालीको विकास भएको छैन । तर एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा कम हुँदा देशका उच्च, मध्यम र साना नदीमा बहाव सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना हुने हुँदा तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यका लागि समेत सचेत रहन आग्रह गरिएको छ ।