logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान


अंकुरण खबर
2.6K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गर्नका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिंगापुर जान लागेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू स्वास्थ्य परीक्षणका लागि जान लागेको बताए ।

प्रधानमन्त्रीका साथमा उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीलाई विदाइ गर्नका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आज आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ। उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम रहेको छ।

यसअघि प्रधनमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार साउन २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।