डा. अविनाश चन्द्र, नशा रोग विशेषज्ञ
छारे रोगलाई सिजर (Seizure), इपिलेप्सी (Epilepsy), मिर्गी जस्ता विभिन्न नामले पनि चिनिन्छ। छारे रोग नेपाली परिवेशमा एउटा भयावह तथा सयौं भ्रमहरूले घेरिएको हो। समाजमा व्याप्त यही भ्रमपूर्ण सोच (Taboo) ले छारे रोगीलाई समाजमा तथा परिवारमा आफ्नो दैनिक जीवनयापनमा धेरै नै कठिन परिस्थितिको सामना गर्नु परेको हुन्छ। यस रोगको उपचार नेपालमा पनि सम्भव छ तर चिकित्सा विज्ञानले जति चाँडै फड्को मारे पनि सामाजिक सोचमा परिवर्तन आउन समय लाग्छ। यही सोचलाई बदल्न, जनमानसमा यस रोगको बारेमा व्याप्त शंका उपशंकालाई कम गर्नका लागि यो लेख लेख्न जमर्को गरेको छु।
नेपालको पितृसत्तात्मक परिवारमा महिलाको अवस्था त्यसै पनि ओझेलमा परेको देखिन्छ। स्वास्थ्यको अवस्थाले पनि नेपाली समाजमा महिलाको भन्दा पुरुषप्रति बढी झुकाव हुन्छ। अझै पनि कतिपय नेपाली समाजमा स्वास्नी मान्छे बिरामी हुँदा हेलाको दृष्टिले हेरिन्छ। छारे रोगको बारेमा व्याप्त भ्रमले छारे रोगी महिलाको जीवन अत्यन्तै कष्टकर भएको पाइन्छ। यसका अनेक कारणहरू छन्। उदाहरणका लागि, छारे रोग सरुवा रोग हो, यस रोगका बिरामीसँग बसउठ भयो भने सर्छ। छारेरोगी महिलाबाट जन्मेका बच्चाहरूमा पनि यो रोग सर्ने जस्ता विभिन्न प्रकारका भ्रमहरू हाम्रो समाजमा व्याप्त छन्। यतिसम्म कि विवाहित जोडिहरू बिच पनि सम्बन्ध बिच्छेद, नराम्रो सम्बन्ध, आपसी असमझदारी, झैंझगडा, आदि बढेको छ। त्यसैले छारे रोगको बारेमा वास्तविक जानकारी हुनु जरुरी छ।
छारे रोग के हो?
मस्तिष्कमा अनियन्त्रित तरवले तरंगहरू प्रवाहित हुनुलाई छारे भनिन्छ। यस्ता तरंगहरू एक पटकभन्दा बढी भयो भने यसलाई छारे रोगको संज्ञा दिइन्छ।
छारे रोगका कारण
छारे रोगको मुख्य कारण मस्तिष्कको तरंग अनियन्त्रित हुनु, अथवा चाहिने भन्दा बढी हुनु हो। अनियन्त्रित तवरले तरंग प्रवाहित हुनका लागि अनेकौं कारणहरू हुन सक्छन्। मस्तिष्क भित्र हुने भयानक रोगहरू जस्तै ब्रेन ट्युमर, क्षयरोग (ब्रेनको क्षयरोग), मस्तिष्क भीत्र जुकाको अण्डा (न्युरो सिस्टिसरकोसिस) अथवा यस्ता कारण बिना नै पनि छारे रोग लाग्न सक्दछ। मस्तिष्क भित्र आफैं पनि अनियन्त्रित तरंग प्रवाह हुन सक्दछन्।
के छारे रोग सरुवा हुन्छन् त?
छारे रोग सरुवा रोग होइनन्। कुनै एक व्यक्तिलाई छारे रोग लागेमा, उनीसँग बसउठ गर्दैमा, सम्पर्कमा हुँदैमा सर्दैन। छारे रोग पिडितहरूले कसैलाई पनि सार्न सक्दैन। बरू छारे रोगीसँग एकजना सँगै बस्नु पर्दछ किनभने छारे रोगीलाई कुनै पनि बेला रोगको आक्रमण गर्न सक्छ र त्यस्तो बेलामा आफूसँग हेरचाह गर्ने व्यक्ति भयो भने धेरै फाइदा हुन्छ तथा समयमा नै अस्पताल पुर्याउन सकिन्छ।
के छारे रोग वंशानु रोग हो?
यो प्रश्न अलि जटिल हुन सक्छ। पहिलो कुरा के बुझ्न जरुरी छ भने छारे रोगका कारक तत्व जस्तै कि जुकाको फुलबाट लागेको छारे रोग वंशानुगत हुन सक्दैन। वंशानुगत अध्ययन (Genetic Analysis) ले देखाए अनुसार जिनमा खराबी भएर हुने रोग पारिवारका सन्तानहरूमा आउन सक्ने सम्भावना हुन्छ।
छारे रोगका उपचार
छारे रोगको उपचार, नियन्त्रणको धेरैजसो उपायहरू उपलब्ध छन्। छारे रोगका कारक तत्व ब्रेन ट्युमर देखि अन्य विभिन्न रोगहरूका उपचार पनि सम्भव छ। त्यसै गरी छारे रोगलाई नियन्त्रण गर्ने औषधिहरू पनि उपलब्ध छन्। छारे रोगबाट हुन सक्ने ज्यानको खतराबाट जोगिनका लागि समयमै उपचार पाउन अत्यन्तै आवश्यक छ। चिकित्सकसँगको सुझाव र सल्लाह आवश्यक हुन्छ। त्यसै गरी समयमै त्यसका लगि चाहिने जाँचहरू पनि आवश्यक हुन्छ। छारे रोगको आक्रमण विभीन्न रूपमा देखिन सक्छ। एक किसिमको छारे रोगको आक्रमणबाट मुख बाङ्गिने, आँखा माथितिर बटार्ने, हात खुट्टा छट्पटाउने, बेहोस हुने, इत्यादि हुन सक्छ। यो सबै भन्दा सामान्य खालको छारे रोग हो र प्राय: प्रत्यक्ष हुन्छ। अर्को किसिममा मान्छे बेहोश नभएपनि केहि क्षणका लागि आफ्नो वरिपरिका कुरासँग अनभिज्ञ हुन्छ। कुरा गर्दा गर्दै बेसुरको हुनु, डराउनु, मान्छेको प्रकृति नै बदलिनु पनि छारे रोगका लक्षण हुन। अर्को किसिमको छारे रोग जुन प्राय: बालबालिकामा देखिन्छ- त्यसमा बच्चाहरू खेल्दा खेल्दै वा अन्य काम गर्दागर्दै एक छिनका लागि ट्वाल्ल परेर हेरिराख्नु अनि फेरि आफ्नो काम गरिराख्नु जस्ता क्रियाकलाप देखिन सक्छ। यसलाई Absence Seizure भनिन्छ।
छारे रोगीले के गर्नु हुँदैन?
छारे रोगको शंका भएमा तत्काल चिकित्सकको सुझाव सल्लाह लिनु अति नै आवश्यक छ। सकेसम्म छारे रोगीलाई एक्लै छाड्नु हुँदैन। खास गरेर उचाइमा चढ्नु, धारिलो हतियार अथवा उपकरण प्रयोग गर्नु,, सावारीसाधन चलाउनु जस्ता कामहरू छारे रोगीका लागि खतरनाक हुन सक्छन्।
छारे रोगका जाँचहरू
छारे रोग भएमा अथवा त्यसको शंका लागेमा विभिन्न किसिमका जाँचहरू गरिन्छ। त्यसमध्ये अति आवश्यक जाँचमा टाउकोको सिटी स्क्यान अथवा एमआरआई जाँच, टाउकोमा तार लागाएर कम्प्युटरबाट तरंग जाँच्ने उपकरण (इइजी) र रगतको जाँचबाट आउने जानकारी र रोगको आक्रमण तथा लक्षणको हिसाबले उपचारको बाटो निधो गरिन्छ।
के छारे रोगिको जीवन कष्टकर हुन सक्छ?
छारे रोगले मानिसको जीवनलाई धेरै परिवर्तन गर्न सक्दैन। छारे रोगले दैनिक जीवनयापनमा कुनै बाधा पुर्याउन सक्दैन। यसले छारे रोगीहरूको पढाइ लेखाइ अथवा अन्य काममा कुनै बाधा पुर्याउन सक्दैन। छारे रोगी भएर पनि सफलताको शिखरमा पुग्न सफल भएका धेरै उदाहरणहरू छन्। प्रसिद्ध वैज्ञानिक न्युटन, विलक्षण प्रतिभाका प्रतिमुर्ति लिओनार्दो दा भिन्ची, नोवेल पुरस्कारका जनक एलफ्रेड नोबेल पनि यस रोगका शिकार थिए। त्यसैले छारे रोग लाग्दैमा यसलाई जीवनको असफलता भनेर लिनु हुँदैन। छारे रोग सर्ने वा बढ्ने डर पालेर रोगीको साथ छोड्नु हुँदैन। छारे रोगीहरूलाई नैतिक तथा शारीरिक सहयोगको आवश्यकता हुन्छ। छारे रोगीले पनि आफ्नो रोग लुकाउनु हुँदैन। बरू आफ्नो रोगको बारेमा आफ्ना परिवारका सदस्य, साथी तथा आफन्तहरूसँग खुलेर कुरा गर्नुका साथै चिकित्सकको सल्लाहका लागि हिच्किचाउनु हुँदैन।