काठमाडौं – सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने १६ जनाको जीवित उद्धार गरिएको छ । मृतक तीनै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ । मृतकहरु एकै परिवारका रहेका छन् ।
४५ यात्रु बोकेको ना६ख ७४६९ सृष्टि डिलक्स बस आज बिहान ३ः३० बजेको समयमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परेका १६ जनाको उद्धार गरेर थप उपचाका लागि काठमाडौं ल्याईएको छ । बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको जनाएको छ ।