logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

त्रिशूली दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ५ पुग्यो, २१ अझै बेपत्ता


अंकुरण खबर
1.586K
Shares

काठमाडौं – धादिङको त्रिशूली नदीमा आज बिहानै यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीनजनाको शव बिहानै फेला परेको थियो भने हराइरहेका मध्ये एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको हो ।

बस नदीबाट निकाल्नका लागि क्रेन मगाइएको छ । २१ जना अझै बेपत्ता रहेको जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख नेत्रप्रकाश भट्टले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका अन्य १६ जनाको उपचार भैरहेको छ । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी, र काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान ३ः३० बजेको समयमा त्रिशूली नदीमा खसेको थियो । ना६ख ७४६९ नम्बरको बस मोडमा पुगेपछि घुमाउन खोज्दा बस झण्डै एक सय मिटर तल धादिङको सल्यानघाटबाट त्रिशूली नदीमा खसेको थियो । प्रहरीले चालक निदाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ ।