अध्यक्षद्वयले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको देखिँदैन। राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा, नेकपाका अध्यक्षद्वय (ओली(प्रचण्ड) यदाकदा अझै सशंकित हुने अवस्था देखिन्छ। जसका कारण पनि नेकपाको एकता प्रक्रियाले सहज बाटो लिन सकिरहेको छैन।
‘अध्यक्षद्वयबीच एकअर्कालाई अहिले विश्वास नगरी धरै पनि देखिन्न। संशयपूर्ण ढंगले अध्यक्षद्वयले एकअर्कालाई विश्वास गरिरहेको अवस्था अहिले छ’ पोखरेल भन्छन्, ‘विश्वास छ भनेर बाहिर देखाउन पनि जरुरी छ। एकअर्काको भूमिकाप्रति एकअर्कामै संशय छ। संशयपूर्ण विश्वासको अवस्थामा ओली(प्रचण्ड सम्बन्ध देखिन्छ।’
दुई नेताकै सम्बन्धका कारण नेकपा एकता बेलाबेला गज्मजिँदै आइरहेको छ। पार्टी स्कुलिङ विभागको नेतृत्व अहिले त्यही विश्वासको वातावरण बन्न नसक्दा नेताहरूकै बीच जुँगाको लडाइँ बन्न पुगिरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
नागरिक दैनिकले कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको मुख्य समाचार छापेको छ । नागरिक लेख्छ– मस्यौदानमा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्पर्कका लागि दम्पत्ती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ । मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिने छ । सन्तान नभएका कैदीलाई एक सन्तान जन्माउनका लागि मात्र यस्तो सुविधा दिइने समाचारमा उल्लेख छ ।
पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो ।
यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको छ । ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन ।
ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको छ कोही भाडामा छ, कोही जग्गा कब्जा गरिएको छ । कतिपय स्थानमा सरकारी कार्यालय बसेका छन् कति स्थानका जग्गा बेवारिसे छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउने बारेमा अध्ययन अगाडि बढाइएको छ ।
अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौँसम्म ल्याउने सम्भावनाको अध्ययन सुरु भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिनुभयो । दुई हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उहाँको भनाइ छ ।
रक्षा मन्त्रालयको सकरात्मक जवाफ आउने वित्तिकै दु्रतमार्गमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै बस्न दिइन्छ । तर, डोमले बस्न र प्लास्टिक ग्लासमा पाउँदैनन् ।
दुई
अर्नामा गाउँपालिका–५ कृष्णपुरका सुनिता र उदगार मल्लिकका छोराछोरी कृष्ण, अर्जनु र रिमा घरनजिकैको श्री आधारभूत विद्यालयमा पढ्छन् । विद्यालयमा खाजा अरुसँगै खुवाइँदैन । प्लटे बेग्लै छ । उनीहरु सधैं एउटै प्लटेमा खान्छन् । त्यहाँ डोमबाहेक दलित र गैरदलितका छोराछोरी खाजा सँगै खान्छन् । एकअर्कोले खाएको प्लेटमा अर्को दिन खाजा खान्छन् । अचेल सुनिता र उदगार बेग्लै खाजा खुवाए पढ्नै नजाने भन्न थालेका छन् ।
तीन
लहान नगरपालिका–१० की मीना मल्लिकलाई साउन १ गते छिमेकीले कुटपिट गरे । निहुँ थियो सुँगुरले भाँडो छोएको । पाँच दिन अस्पतालमा बसेपछि उनी निवेदन लिएर प्रहरी चौकी पुगिन् । चौकीले मिलापत्र गर्न भन्यो । उनी निराश भएर घर फर्किन् । उनलाई उपचार खर्चबापत २५ सय रुपैयाँ दिएर घटना सामसुम पारियो ।
डोम समुदायमा दिनहुँ यस्ता घटना भइरहेका छन् । उनीहरू घरबाहिर पाइला टेक्नेबित्तिकै भेदभाव र छुवाछुत भोग्न बाध्य छन् । देशमा कानुन, व्यवस्था र सत्ता बदलिए पनि उनीहरूको पीडा बदलिएको छैन ।
विद्यालय, होटल, मठमन्दिर, गाउँघरमा उनीहरू दुःख सहेर बस्न विवश छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु यादवले लेखेका छन् ।