logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मृत्यु भएको भनेर घाटमा लगिएका शिशु चल्मलाएपछि पुनः अस्पताल फर्काईयो


अंकुरण खबर
3.185K
Shares

चितवन – देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।

पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको हो । अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शङ्कास्पद देखिएपछि  शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

घटना शुक्रबार भएको हो । बिहीबार ती बच्चा जन्मिएका थिए । गर्भ रहेको सात मीहनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।