काठमाडौं – राजनीतिशास्त्रीदेखि सुरक्षा मामिलाका जानकारसम्मले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले लिएको कार्यदिशा सफल हुन सक्ने आधार नरहेको बताएका छन्।
मुलुकको वर्तमान परिस्थितिमा हिंसात्मक द्वन्द्वमार्फत् परिवर्तन ल्याउन सम्भव नभएको उनीहरूको निष्कर्ष छ।
उनीहरू चन्द नेतृत्वको नेकपाले लिएको बाटोमा सैद्धान्तिक स्पष्टता पनि नभएको र पार्टीको कार्यदिशाले कसैलाई फाइदा नपुर्याउने पनि बताउँछन्।
केही दिनअघि मात्रै एक नेताले पनि आफ्नो पार्टीले लिएको बाटो सही नभएको बताएका थिए।
के भनेका थिए ती नेताले
हिरासतमा रहेका तत्कालीन पोलिटब्यूरो सदस्य मोहन कार्कीले राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा आफ्नो पार्टीको राजनीतिक कार्यदिशा छापामार युद्धु नभई एकीकृत जनक्रान्ति भएको बताएका थिए।
कतिपय साथीले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ। मुलुक द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भन्दै कार्कीले शान्तिपूर्ण रूपमै समस्याको समाधान खोज्नुपर्नेमा जोड समेत दिए।
आफूले महासचिव चन्दलाई पार्टीमा केही कुरा सच्याउन र कार्यदिशा अनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको पनि कार्कीले दाबी गरे।
विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कार्कीलाई गत चैत १ गते ललितपुरबाट पक्राउ गरेको थियो।
विगतमा तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व शुरू गरेको जस्तै अवस्थाको परिकल्पना गरेर चन्द नेतृत्वको नेकपा अघि बढे पनि त्यसयता निकै परिवर्तन आइसकेको राजनीतिशास्त्री तथा सुरक्षा मामिलाका जानकारहरूको तर्क छ।
उनीहरूले चन्द नेतृत्वको नेकपाले लिएको कार्यदिशा सफल हुन नसक्ने विभिन्न कारण रहेको बताएका छन्।
उनीहरूले औँल्याएका चार प्रमुख कारण यस्ता छन :
१. वस्तुगत परिस्थिति
पूर्वगृहसचिव श्रीकान्त रेग्मी मुलुकको अहिलेको वस्तुगत परिस्थितिलाई चन्द नेतृत्वको नेकपाले सही रूपमा विश्लेषण गर्न नसकेको बताउँछन्।
विगतमा तत्कालीन माओवादीले क्षेत्रीयता र जातीयताको नारा दिँदा र प्रभावित क्षेत्रमा डरको मनोविज्ञानले काम गर्दा पनि कतिपय मानिस उनीहरूको पछाडि लागेको उनको दाबी छ। तर अहिले वस्तुस्थिति फेरिएको बताउँदै उनी भन्छन्, अब त डरको मनोविज्ञानले पनि काम गर्न सक्दैन र जनता पनि अहिलेको राज्य व्यवस्थाविरुद्ध उभिने वस्तुगत परिस्थिति कमसेकम मैले चाहिँ देख्दिनँ।
लेखक तथा राजनीतिक टिप्पणीकार राजेन्द्र महर्जन पनि अहिलेको वस्तुस्थितिबारे चन्द नेतृत्वको नेकपाको स्पष्ट दृष्टिकोण नभएको बताउँछन्।
उनी भन्छन्, जाने कता त्यो पनि थाहा छैन, अहिलेको वस्तुस्थिति के हो त्यो पनि थाहा छैन।
२. सैद्धान्तिक अस्पष्टता
जानकारहरूका अनुसार कुनै पनि राजनीतिक दल अथवा समूहप्रति मानिसहरू आकर्षित हुनुमा तिनले अङ्गीकार गर्ने सिद्धान्तको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसो भन्नुको अर्थ त्यस्ता दल अथवा समूह कस्तो सिद्धान्तबाट निर्देशित हुन्छ भन्ने हो।
तर प्राध्यापक कृष्ण खनालको विचारमा चन्द नेतृत्वको नेकपाले लिएको बाटोमा सैद्धान्तिक प्रस्टता देखिँदैन।
उनी थप्छन्, मलाई लाग्छ उनीहरूको राजनीतिक गन्तव्य प्रस्ट छैन।
प्रचण्डले क्रान्तिको बाटो अधुरो छाडे भनेर त भन्नुहुन्छ, तर उहाँहरूकै क्रान्तिको बाटो के हो त्यो प्रस्ट देखिँदैन।
३. इतिहास सधैँ दोहोरिँदैन
अर्का प्राध्यापक कृष्ण पोखरेलको विचारमा एउटा परिस्थिति एक पटक थियो भन्दैमा सधैँ त्यही परिस्थिति रहन्छ भन्ने हुँदैन।
विगतमा तत्कालीन माओवादी आन्दोलनले एउटा विन्दुमा नपत्याउने ढङ्गले उचाइ पाएको र त्यहाँबाट अगाडि बढे प्राप्त उपलब्धि पनि गुम्न सक्ने देखेर ऊ सम्झौताको बाटोमा आएको उनी बताउँछन्।
पूर्वगृहसचिव रेग्मीको विचारमा चन्द नेतृत्वको नेकपा पनि फेरि उही बाटो समात्नु भनेको इतिहासबाट पाठ नसिक्नु हो।
४. सैन्य क्षमता
चन्द नेतृत्वको नेकपाले बेलाबखत विस्फोट गराउँदै आएको घटना सार्वजनिक हुने गरेका छन्।
तर सुरक्षा मामिलाका जानकारहरू विगतमा तत्कालीन माओवादीले जस्तै चन्द नेतृत्वको नेकपा नरहेको बताउँछन्।
विश्लेषक र सुरक्षाविज्ञ भन्छन्, त्यहीँ स्तरमा त द्वन्द्व निम्त्याउन सक्ने उसको क्षमता देखिँदैन। तर द्वन्द्वको खतरालाई नकार्न सकिँदैन।
नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले भने त्यो हैसियत चन्द समूहले राख्दैन। तर अहिलेको देशको अवस्था र युवामा व्याप्त बेरोजगारीको अवस्थाले उनीहरूलाई आकर्षित गर्ने जोखिम चाहिँ छ।
माथि उल्लेखित आधारबाहेक चन्द नेतृत्वको नेकपासामु वार्ताको विकल्प नभएको जानकारहरू बताउँछन्।
उनीहरू भन्छन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्त हेर्दा अधिकांश हिंसात्मक सङ्घर्षहरू शान्तिपूर्ण वार्तामार्फत् टुङ्गिएका छन्।
चाहे त्यो नेपालकै सशस्त्र द्वन्द्व होस् अथवा पाँच दशकभन्दा लामो समय चलेको द्वन्द्व होस्।
आफ्नो राजनीति जोगाउनलाई पनि त्यस्ता दल वा समूह अन्ततः वार्ता र सम्झौतामा जानुको विकल्प नभएको अर्का प्राध्यापक पोखरेलको तर्क छ।
चन्द नेतृत्वको नेकपा के हो ?
विसं २०६९ को असारमा पुष्पकमल दाहाल ुप्रचण्डुले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।
पछि वैद्यले नेतृत्व गरेको नेकपा माओवादी पनि क्रान्तिकारी हुन नसकेकोु भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे। औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दललाई सर्वसाधारणहरू चन्दको उपनाम जोडेर विप्लव माओवादी भन्ने गर्छन्।
कुनै पनि निर्वाचनमा सहभागी नभएको उसले आफूलाई मूलधारको माओवादी पार्टी भन्ने गर्दछ।
वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरूलाई कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फोटन गराउने र बलपूर्वक चन्दा सङ्कलन गर्दै आएको छ।
पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो गरेका छन्। त्यहाँ सो दलले जनसरकारु घोषणा पनि गरेको छ।
निर्णायक क्रान्ति गर्ने भन्दै सरकारी पक्षसँग वार्ता गर्न नमानेको चन्द नेतृत्वको दलको सरकारी पक्षसँग वार्ता हुन लागेको चर्चा चलिरहेको छ।
सरकारका प्रवक्ताले पनि वार्ता हुन सक्ने तर त्यसका लागि सो समूहले हिंसा त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्।
हिंसाको शृङ्खला
गत जेठ महिनामा काठमाण्डूका विभिन्न स्थानमा भएका विस्फोटनमा चन्द नेतृत्वको नेकपका चार कार्यकर्ताको मृत्यु भएको थियो ।
२०७४ मा दाङको तुलसीपुरमा भएको बम विस्फोटमा म्यादी प्रहरीको ज्यान गएको थियो। उक्त घटनामा चन्दको दलकै हात रहेको अधिकारीहरूले बताएका थिए।
फागुन २०७५ मा चन्द समूहले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नख्खुस्थित कार्यालयअगाडि गराइएको विस्फोटनमा एक सर्वसाधारणको मृत्यु ।
जेठ २०७६स् काठमाण्डूको घट्टेकुलो र सुकेधारामा सिलिन्डर बम विस्फोटन हुँदा चन्द समूहका चार जनाको मृत्यु।
जेठ २०७६स् दोहोरो भिडन्तका क्रममा प्रहरीको गोली प्रहारबाट घाइते सो दलका एक कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रशासनको भनाइ, तर गिरफ्तार गरी हत्या गरिएको नेकपाको आरोप ।
असार २०७६मा भोजपुरमा भएको एउटा घटनामा चन्द समूहका एक कार्यकर्ता र एक प्रहरीको मृत्यु ।
असार २०७६मा सर्लाहीमा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी कारबाहीमा मृत्यु। दोहोरो भिडन्त भएको प्रहरी दाबी, नियन्त्रणमा लिएपछि हत्या गरिएको परिवारको भनाइ
साउन २०७६ मा धनगढीमा आफैँले बोकेको विस्फोटक पदार्थ पड्किएर चन्द समूहका एक कार्यकर्ताको मृत्यु। उनका साथीसहित अरू तीन जना घाइते भए । स्रोत : बीबीसी