काठमाडौं – पूर्व नायव सुब्बा त्रियुगा नगरपालिका–१० उदयपुरका ५५ वर्षीय हरिप्रसाद आर्चायले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
बिना गल्ती अख्तियारले भ्रष्टचारको आरोप लगाएर आफुलाई फसाउन खोजेको भन्दै सुसाइड नोट लेखेर आचार्यले शनिबार राति झुण्डिएर आत्माहत्या गरेका हुन् । सुसाइड नोटमा आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नामसमेत जोडेका छन् ।
उनको सुसाइड नोट यस्तो छ …
‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टाचारी भए, अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको ‘आयु २ सय वर्ष होस्,’ म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ, काठमाडौँले सहयोग गर्नू ।
आफ्नो नाममा पुराण लगाउने काम नगर्नू र नउक्साउनू । मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिनँ । कामबाट चोखिने काम मात्र गर्नू । मैले काम गर्दा भएको गल्ती हो । स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ ।
‘ममीले छोराहरुसँग र सासूसँग मिलेर बस्नू र छोराले पनि ममीलाई राम्रो गर्नू । म बिदा भएँ । खातामा पैसा छन् । श्रीमती केही जान्दिनन् । साथीभाइले मनैले सहयोग गर्नू । मलाई बस्नेतको आँपगाछी हुँदै जङ्गलमा खोज्नू ।
कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिनँ, पापी भएँ । वाणिज्य, नेपाल, एनसीसी, एनआईसी बैङ्कमा के कति पैसा छ, चेक दराजभित्र सानो ब्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ । ‘वीरेन्द्र काकालगायत छिमेकीले भैँसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू ।’
सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौँ बस्नू । गोमाले रङ्गीन लुगा लगाउनू । १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी सङ्गठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।’
अख्तियारले एक वर्षअघि मालपोत कार्यालय कलङ्कीमा कार्यरत रहँदा आचार्यसहित ७ जनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रूपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराइएको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो । त्यतिबेला आचार्यले सफाइसमेत पाएका थिए । तर अख्तियारले पुनः गत जेठ २६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टचारको आरोप लागेका व्यक्तिहरुलाई पक्राउ गर्ने क्रम बढेसंगै भ्रष्टचारका आरोपीहरुले आत्महत्या गर्ने क्रम बढेको छ ।
आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा नायव सुब्बा भएरसमेत काम गरिसकेका थिए । आचार्यको समायोजन उदयपुरको त्रियुगा नगरपालिका भएको थियो भने केही समय अघि मात्र उनले अबकास लिएका थिए ।