काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । कागजी प्रक्रिया सबै पुरा गर्दा पनि नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको सन्दीपले आज ट्विट गर्दै जानकारी दिएका हुन् ।
सन्दीपले मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिएका थिए । सन्दीपले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु आश्चर्यमा परेको बताएका छन् । उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्नका लागि अमेरिकी दूतावासमा भिसाका लागि निवेदन दिएका थिए ।
भिसा अस्वीकृत भएका कारण लिग खेल्न जान गाह्रो हुने स्थिती आएको उनको भनाइ छ । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म हुँदैछ । ट्वीटरमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गरेर लामिछानेले दूतावासले आफुलाई भिसा नदिएको जानकारी गराएका छन् ।
