कृषक र व्यवसायीको दवावपछि सरकारले दूधको मूल्य बढाउन कार्यदल गठन गरेको छ ।
बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदललाई दूधको नयाँ मूल्य सिफारिस गर्ने विषयमा विभिन्न नौ कार्यदेश दिइएको छ ।
गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने मूल्य निर्धारण गर्नुपर्ने कृषि मन्त्रालयले जनाएको छ ।
कार्यदलको समय सीमा नतोकिए पनि भदौ एक गतेदेखि नै लागू हुने गरी प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म दूधको मूल्य बढ्न सक्ने जनाइएको छ ।