काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक आइतवारसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेन्डा थियो ।
यसअघि, शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका महत्वपूर्ण ३२ विभागको नेतृत्व चयन गरेको थियो । ३२ विभागमध्ये १८ मा पूर्वएमाले र १४ विभागमा पूर्वमाओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् । यस्तै, बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो ।