logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा दिनहुँ प्रदर्शन बढ्न थालेपछि निषेधित क्षेत्र घोषणा


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन बढ्न थालेपछि प्रशासनले चितवनमा निषेध्याज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकाले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्रमा प्रदर्शन तथा समुह बनाएर बस्न समेत नपाइने र आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् । दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि प्रहरीलाई सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसबारे पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ ।

लामिछानेसहितका तीन जनामाथि जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको हो । अनुसन्धान नसकिएकाले प्रहरीले भोलि पुनः म्याद थपका लागि उनीहरुलाई अदालतमा उपस्थिति गराउने तयारी गरिरहेको छ ।