काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओलीले सर्वदलीय बैठक राखेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे हुने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका विषयमा छलफल हुने कार्यसूचि छ । दुई दिनअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले एक साताभित्र आयोगलाई पुर्णता दिने बताएका थिए ।
आयोगलाई पुर्णता नदिएको विषयमा अन्र्तराष्ट्रिय समुदायले समेत बेला बेलामा प्रश्न उठाउदै आएका छन् । सत्यनिरूपण आयोगको प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट ब्यक्ति नियुक्त गर्ने तयारी छ । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् ।
बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन् ।