Gaura Parva
काडमाडौं – सुदूरपश्चिमको विशेष पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि यो पर्व शुरु हुने गर्दछ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भव्य रुपमा मनाइने गौराको पहिलो दिन मंगलवार बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ । गौराको पहिलो दिन आज गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन छ ।
केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ । मंगलवार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ । सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्त्वसँग जोडिएका धार्मिक गाथा, गीग, फाग, धमारी चाचरी, देउडा लगायातका गीत गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन् ।
अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रहिआएको छ । सुदूर पश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ । बिरुडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरेको पाईन्छ ।
गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूले गौराघरमा शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गर्दछन् । यस पर्वमा शिव र पार्वतीको प्रेम अनि विवाहको स्मरण गर्दै विधिपूर्वक शिव पार्वतीको पूजा आराधना गरेर महिलाहरूले व्रत बस्ने गर्दछन् । त्यस्तै पुरुष महिलाहरूले ५ दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन् ।
साङ्गीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ ।