काठमाडौं – संचारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले लिन अस्वीकार गरेको छ ।
जन आस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठलगायत तीन जनाविरुद्ध उजुरी दर्ता गराउन परिसर पुगेकी पौडेललाई प्रहरीले क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको छ । घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरीले बताएको छ ।
प्रहरीले जाहेरी लिन नमानेपछि पौडेलले हुलाकमार्फत जाहेरी पठाउने तयारी गरेकी छन् । निकिता पौडेलले जन आस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दर्ता गराउन प्रहरी परिसर पुगेकी थिइन् । उनीहरुले सरकारी विद्युतीय अभिलेख किर्ते गरेको पौडेलको आरोप छ ।