काठमाडौं – अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाको लिडि सुकिबागमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप बुधबार राति ७ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ तिमिल्सेनका ३९ वर्षिय अशोक परियार, वडा नम्बर ४ का ३८ वर्षिया कालुसि आउजी र बैतडी डिलासैन गाउँपालिका वडा नम्बर ३ का २२ वर्षिय लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परियारको घटनास्थलमै मृत्यु भएको हो भने आउजी र बोहराको वयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घाइते हुनेमा बान्नीगढ जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सेनका तर्कराज तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिका ७ कीर्तिपुरका २६ वर्षिय जनजिर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका २५ वर्षिय घनश्याम चौधरी रहेका छन् ।
रातिको समय, कच्चीबाटो र पानी परेकाले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।