काठमाडौं – भारतका विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमण सकेर फिर्ता भईसकेका छन् । तर मन्त्री एस जयशंकरसँगको भेटको विषयलाई लिएर समाजवादी पार्टीका नेता तथा पूर्व प्रधामन्त्री बाबुराम भट्टराई र राप्रपाका नेता कमल थापाबीच ट्वीटरमा जुहारी परेको छ ।
पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले कुटनीतिक मर्यादा विपरीत जयशंकरलाई होटलमै गएर भेटेको भन्दै राप्रपाका नेता कमल थापाले टिप्पणी गरेका छन् । थापाले बिहीबार बेलुका ट्वीट गरेर भनेका छन्, देउवा, भट्टराईसहितले कूटनीतिक मर्यादा र स्वाभिमानको उपेक्षा गरी लम्पसारवादको नमूना पेश गरे ।
समाजवादी पार्टी नेपालका नेता भट्टराईले कमल थापाको ट्वीटको जवाफ दिँदै शुक्रबार बिहान लेखेका छन्, ‘शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला, सुगौली सन्धि यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुला सम्बन्ध राख्ने पक्षमा छौँ ।’
कमल थापाले भट्टराईको यो ट्वीटमा जवाफ दिँदै पूर्व प्रधानमन्त्रीले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रुपमा भेटेको नसुहाएको उल्लेख गरेका छन् । थापाले ट्वीटमा लेखेका छन्, ‘ खुला मित्रतापूर्ण सम्बन्धबारे मेरो मित्रको धारणासँग सहमत छु । त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो । सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि ?
.jpg)
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल जयशंकरलाई भेट्न उनी बसेको होटलमा गएनन् । तर कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरु भने जयशंकरलाई भेट्न उनी बसेको होटल द्वारिकामै पुगे ।