काठमाडौं – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामा पहिलोपटक यो रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो ।
लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि उपचारका लागि उनलाई कैलालीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएपछि चिकित्सकले डेङ्गु रोग लागेको बताए ।
जिल्ला बाहिर कहिले नगएकी यी महिलालाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा चिकित्सकसमेत अचम्ममा परेका छन् । जिल्ला अस्पताल डोटीका चिकित्सकले भने, ‘एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ, तर डोटीमा अहिलेसम्म पनि डेङ्गु रोगका बिरामी देखिएका छैनन्, हामी नै अचम्ममा परेका छौँ ।’
एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउँसो मात्रै मानिसलाई टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ ।