काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ ।
आज तीनै जनालाई तेस्रोपटक जिल्ला अदालत चितवन पेस गरिदैं छ । प्रहरीले आज अदालतमा पुन म्याद थप गर्ने या मुद्दा दर्ता गरेर अदालती प्रक्रिया शुरु गर्ने भन्ने खुलाएको छैन । लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई दुईपटक गरी दश दिनको म्याद लिई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिसकेको छ ।
प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ । अनुसन्धन नसकिएको भए म्याद थपका लागि र अनुसन्धान सकिएको भए मुद्धा दर्ता भएर कानुनी प्रकृया अघि बढ्ने जिल्ला अदालत चितवनले जनाएको छ ।
यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो ।