काठमाडौं – रवि लामिछानेसहित तीनै जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरेको छ ।
पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरिएको हो ।
अदातल स्रोतका अनुसार अहिले पुडासैनीकी प्रेमिका भनिएकी रुकु भनिने अस्मिता कार्कीको लिखित बयान लिइरहेको छ । अदातलका मुख्य न्यायाधीस हेमन्त रावलको इजलासमा लिखित बयान लिने क्रम चलिरहेको हो । अस्मिताको बयान सकिएपछि क्रमश युवराज कँडेल र रवि लामिछानेको बयान लिइने बताइएको छ । एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिने देखिएको छ । बयान सकिएपछि बहस हुनेछ। आइतबार बहस हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउनुपर्ने माग गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
योसँगै सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । बहसपछि मात्रै उनीहरुलाई रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ।