काठमाडौं – अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएकाहरुको संख्या बढ्दै गएपछि भरतपुर आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
शालिकराम पुडासैनी हत्या प्रकरणमा न्यायिक प्रक्रियालाई समेत अवरुद्ध गर्ने गरी प्रदर्शन भइरहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत आसपासका क्षेत्रमा आज बिहान छ बजेदेखि अर्को आदेश नआएसम्म निषेधाज्ञा आदेश जारी गरिएको हो । अशान्ति गर्ने उद्देश्यबाट एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला नहुन पनि प्रशासनले सचेत गराएको छ ।
आइतबार साँझ लामिछानेको समर्थनमा चितवन जिल्ला प्रहरी कार्यालयअगाडि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरवितरण गर्न केही सेल अश्रुग्यास प्रहार गरेको होे । सो क्रममा समर्थकहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्दा ८ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका थिए ।