रोल्पा – रोल्पाको एक वडा कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ । आइतबार मध्यराति राति परिवर्तन गाउँपालिका वडा नम्बर दुईको वडा भवनमा अज्ञात समूहले बम विष्फोट गराएको हो ।
बम विष्फोट हुँदा भवनमा क्षती पुगेको छ । विष्फोटपछि डिजेल प्रयोग गरेर भवनमा आगो लगाइएको प्रहरीले जानकारी दिएको छ । राती नै आगो स्थानीयले नियन्त्रणमा लिएका छन् । बम विस्फोटन कसले गरेको भन्ने बारेमा अझै खुल्न सकेको छैन ।
वडा अध्यक्ष हरिबहादुर घर्ती मगरले विज्ञप्ती जारी गर्दै वडा कार्यालयलाई निशाना बनाइएको भन्दै दुःख व्यक्त गरेका छन् । यो घटनाको नेत्र विक्रम चन्द्र नेतृत्वको नेकपाले गराएको अनुमान गरिएपनि आधिकारिक जिम्मा लिएको छैन । यो घटना कसले गरायो भन्ने कुरा अझै रहस्यमय बनेको छ ।