logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तरगंगा ढोरपाटन भ्याली डुबानमा पर्दा जनताको भावनामाथि ठूलो ठेस पुग्छ : सांसद कमला रोका


अंकुरण खबर
2.99K
Shares

काठमाडौं – पूर्वखेलकुद मन्त्री तथा रुकुमपूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमला रोकाले उत्तरगंगा नदी डाइभर्सन गरि कालीगण्डकीमा मिसाए स्थानीय समुदाय प्रतिरोधमा उत्रने चेतावनी दिएकी छिन् । सांस्कृतिक सम्बन्ध रहेको उत्तरगंगा ढोरपाटन भ्याली डुबानमा पर्दा जनताको सांस्कृतिक भावनामाथि ठूलो ठेस पुग्ने बताउँदै उत्तरगंगालाई ढोरपाटनतर्फ डाइभर्सन गर्दा ढोरपाटन उपत्यका र त्यहाँको सभ्यता नै समाप्त हुने उनले चेतावनी दिएकी हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकको चार मिनेटको समयमा बोल्दै माननीय रोकाले उत्तरगंगा जलविद्युत आयोजना नदी बगिरहेको क्षेत्र रुकुमतिर जान दिएर उतै उत्पादन गर्न र ढोरपाटनको सभ्यता बनाउन भन्दै संसदमा माग गरेकी हुन् । रुकुमपूर्वमा मुहान भएको उत्तरगंगा नदीलाई बाग्लुङको ढोरपाटनतर्फ बगाएर जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने चलखेल बढेको भन्दै संसदमा बिरोध भएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै माननीय रोकाले भनिन्, ‘राज्यले चाहेको खण्डमा जलविद्युत आयोजना त जुनसुकै ठाउँमा पनि निर्माण गर्न सक्छ तर यस्तो सुन्दर ढोरपाटन भ्याली राज्यले चाहेर पनि निर्माण गर्न सक्दैन । जनताको सांस्कृतिक सम्बन्ध रहेको उत्तरगंगा, ढोरपाटन भ्याली डुबानमा पर्दा जनताको सांस्कृतिक भावनामाथि ठूलो ठेस लाग्ने छ ।’ दोरपाटन उपत्यका केवल प्रकृति मात्र नभएर त्यो क्षेत्र सास्कृतिक जिविको उपार्जन गर्ने  ठाउँ भएको उनले बताईन् ।

विकास निर्माण गर्दा स्थानीय जनताको संस्कृतिको संरक्षण गर्नुपर्ने विश्वब्यापी मान्यता सम्झदै उनले उत्तरगंगा नदी डाइभर्सन गर्दा ढोरपाटन उपत्यका डुवानमा पर्ने, ढोरपाटन सभ्यता नष्ट हुने र नदीको वहाव कम हुँदा रुकुमपूर्व र रुकुमपश्चिमका जनतालाई पनि प्रत्यक्ष असर पुग्ने बताईन् ।

उत्तरगंगा डाइभर्सनको बिरुद्ध स्थानीय मगर, दलित समुदाय संगठित भइरहेको र यो ठूलो बिद्रोहको रुपमा बिष्फोट हुने चेतावनी पनि उनले दिईन् । आइएलो १६९ अनुसार विकास गर्दा स्थानीय समुदायको हितलाई अग्राधिकारमा राख्नुपर्ने मान्यतामा नेपाल पक्ष राष्ट्र भएको पनि उनले बताईन् ।

माननीय रोकाले भनिन् ‘विकासले आदिवासी जनजातिको थातथलो र संस्कृतिलाई बिथोल्नु हुँदैन भन्ने अन्तर्राष्ट्रिय मान्यताप्रति हाम्रो दृढ अडान छ । परियोजना जबरजस्ती सञ्चालन भएमा स्थानीय समुदाय प्रतिरोधमा उत्रन बाध्य हुनेछन् । यस्तो प्रतिरोधको स्थिति नआओस् र शान्तिपूर्ण रुपमा समस्या समाधान होस् भन्ने हाम्रो चाहना छ ।’

गत भदौ ६ गते ढोरपाटन बचाऔं अभियानका अगुवामाथि सांघातिक हमला भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराईन् । उक्त उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना नदीको वहाव क्षेत्र भेरी बेस तिर नै बगाउन र ढोरपाटन भ्यालीलाई योजना निर्माण गर्न सभामुख मार्फत सम्बन्धित निकायलाई गम्भीर ध्यान आकर्षण गराईन ।