काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ ।
बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ । हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिदैँ छ । यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो ।
१२ वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओलीलाई यसअघि हात लगायतमा दुई–तीन पटक संक्रमण भइसकेको छ । त्यसैले विशेषज्ञहरूले प्लाज्माफेरेसिससँगै संक्रामक रोग रोकथाम गर्न सक्ने अत्याधुनिक सशक्त चिकित्सकीय टोली चाहिने भन्दै सिंगापुर लगिएको हो । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।