काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फ्रेन्समार्फत सहभागी भएको बारेमा अहिले दुईथरी विवाद भइरहेका छन्।
पहिलो बिरामी परेर उपचारका लागि विदेश गएका प्रधानमन्त्रीलाई ठूलै आपतकालीन बैठक जस्तो गरेर अनावश्यक देखाबटी तामझम गर्न खोजियो । र दोस्रो मन्त्रिपरिषद् बैठक जस्तो अत्यन्त संवेदनशील विषयमा भिडियो कन्फ्रेन्स गरेर गोपनीयताको सुरक्षा चुनौतीबारे कुनै ख्याल गरिएन ।
यी दुई विषय विवादको घेरामा तानिएका बेला प्रधानमन्त्रीको सचिवालयले भने भिडियो कन्फ्रेन्समार्फत भएको दोहोरो संवादमा कुनै सुरक्षा चुनौती नरहेको दाबी गरेको छ । प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले सामाजिक सञ्जालमार्फत यसबारे प्रष्ट पार्दै कुनै गोप्य सूचनाको चुहावट हुने गरी आफूहरुले काम नगरेको दाबी गरेका छन् ।
उनले यो भिडियो कन्फ्रेन्सलाई सामान्य सामाजिक सञ्जालको प्रयोग गरिएको भन्ने नठान्न आग्रह पनि गरेका छन् ।