काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिको विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले स्तरोन्नतिको काम छिट्टै सुरु गरिने पनि जानकारी दिएका हुन् ।
बिहीबार बिहान भरतपूर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले पर्यटकीय हिसाबले महत्वपूर्ण विमानस्थलका रुपमा रहेकाले यसलाई पर्यटन मन्त्रालयको निति तथा कार्यक्रममा समेटेर विशेष प्राथमिकतामा राखिएको बताए । मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थलका रुपमा अघि बढाउने योजना रहेको पनि बताए ।
मन्त्री भट्टराईले नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा तत्कालै सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको जानकारी दिँदै विमानस्थललाई व्यवस्थित बनाउने सिलसिलामा विमानस्थल नजिकै रहेको नेपाली सेनालाई सम्मानजनक रुपमा सिफ्ट गर्ने विकल्प पनि रहेको उल्लेख गरे । मन्त्री भट्टराईले विमानस्थल सुधार तथा व्यवस्थित बनाउने पैसाको कुनै समस्या नरहेको पनि बताए ।