सिरिया – सिरियाको विद्रोही नियन्त्रित उत्तरपश्चिमी इदलिव प्रान्तमा रुसले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको छ । युद्धका कारण विस्थापित नागरिक सीमा क्षेत्र हुँदै टर्की जान लागेपछि रुसले युद्धविराम घोषणा गरेको हो ।
सिरियाका लागि रुसी मेलमिलाप केन्द्रले लडाकूहरुलाई सशस्त्र आन्दोलन त्यागेर वार्तामा आउन आग्रहसमेत गरेको छ । सिरियामा लामो समयदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि रुसले सिरियामा अल असदलाई नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको छ ।
सोही क्रममा केही समयदेखि विद्रोही नियन्त्रित इदलिबमा रुसले आक्रमण गर्दै आएको छ । संयुक्त राष्ट्रसंघका अनुसार इदलिबवाट १ लाख सर्वसाधारण युद्धका कारण विस्थापित भएका छन् ।
राष्ट्रसंघले सिरियामा जारी युद्धका कारण लाखौं नागरिक जोखिममा परेको भन्दै सचेत हुन आग्रह गरेको छ । अप्रिल यता सिरियामा सरकार र ब्रिदोही समूहले गरेको आक्रमणमा सयौं नागरिकको मृत्यु भइसकेको छ ।