logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दृष्टि बिहिनको जीवन : गीत गाएर, धुप बेचेर दैनिक २५ सय कमाई


अंकुरण खबर
2.106K
Shares

काठमाडौं – आफ्नो सुन्दर भविष्यको कल्पना गरेर राजधानी भित्रिनेको संख्या धेरै छ । हरेक व्यक्तिका लागि चुनौतीसंग मुकाबिला गर्दै संभावना पहिल्याउने अबसर भएर होला सायद राजधानी सबैको केन्द्र बनेको । यही राजधानीका सडक पेटीमा बसेर गीत गाउने, सडकमै धुप बेचेर गुजारा चलाई रहेका दृष्टि बिहिनहरुको यथार्थलाई अंकुरण खबरका लागि अनिता बुढा मगरले तयार पारेको लेख ।

राजधानीको सडकलाइ नै हजारौ मानिसले आफ्नो जिबिको पार्जन गर्ने थलो बनाएका छन् । यहाँका सडकहरु सपांगका लागि मात्र नभई अपांगका लागि पनि जीवन धान्ने दरिलो माध्यम बनेका छन् ।

काठमाडौंको व्यस्त र बढी भीडभाड हुने सडकमा पर्दछ , रत्नपार्क र आसपासको सडक ।  यो सडकमा यात्रा गर्ने यात्रुले दृष्टि बीहीनहरुले दिनहुँजसो  सुमधुर आवजमा गीत गाएको सुन्न पाउछन् । यसरि गीत सुनाउने मध्येका एक हुन हुम्लाका ३५ बर्षिय अर्जुन बोहोरा । बोहोरा काठमाडौं आएको पनि ५ वर्ष हुन लाग्यो । यहां आएपछि खानको लागि पनि कुनै पेशा अंकाल्नै पर्थो । उनको शारीरिक कारणले पनि सहजै अन्य काम पाउने अवस्था दिएन् । त्यही भएर सडकमा गीत गाउने सोच बनाएको बताउछन् ।

उनले गाएका गीतहरुले जो कोहीलाई मोहित बनाउछ । रत्नपार्कको गेट अगाडि एउटा ठूलो माइक अगाडि राखेर म्युजिकमा आफ्नो जादुमय आवाजमा विभिन्न गीतहरु गाउँछन् उनी । उनको गायकीमा जादु छ मिठो आवाजका कारण उनको गीत सुन्नेहरुको भिड लागेको हुन्छ । पैदल हिड्ने मात्र नभएर गाडि भित्रबाट पनि उनको गायकीले जो कोहीलाई एक पटक हेर्न अनि उनले गाएका गीत सुन्न आकर्षित गर्छ ।

सानैदेखि गायनमा रुची थियो…

उनी भन्छन् सानैदेखि गीत संगीतमा रमाउथे । गाउँघरमा जब रेडियोमा गीत बज्न थाल्थ्यो मन रमाउथो । त्यही गीत सुनेर आफू पनि गुनगुनाउथे । भन्छन्, “मलाई गीतको शब्दहरु बनाउन त आउदैन् । तर अरुले गाएको गीतलाई गाउन सक्छु । यदि कसैले मलाई गीत गाउन दिनु भयो भने म गीत रेकर्ड गर्न पनि तयार छु ।”

अहिले उनी कीर्तिपुरमा आफ्नो परिवारसँग बस्दै आएका छन् । उनको श्रीमती पनि आFखा देख्न सक्दिनन् । बोहोराका एक छोरा पनि छन् । उनी भने आँखा देख्न सक्छन् । त्यही सन्तानलाई हुर्काउन, बढाउन र पढाउनको लागि पनि घाम पानी नभनी बाध्य भएर सडकको पिढीमा बसेर गीत गाएको बताउछन् ।

महानगर पालिकाका कर्मचारीले यहाँ नबस भन्छन् …

हरेक दिन बिहान सात आठ बजे सोही ठाउँमा आउनु र फेरी साझ परेपछि कोठामा फर्किनु उनको दैनिकी नै बनेको छ । सडक पेटीमा बसेर गीत गाउँदा कहिले काँही महानगर पालिकाका कर्मचारीको  गाली खाएको तितो अनुभव छ उनीसँग । बर्षा याम भएको हुनाले पानी परेको दिनमा चार पाँच सय मात्र हुने र कमाई भएको दिनमा एक हजार भन्दा पनि माथि कमाई हुने उनको भनाई छ ।

संसारमा जन्मदै सबै मानिस कहाँ भाग्यमानी हुन्छ र भाग्य त आफैले बनाउने हो म आखा देख्दैन भगवानले मलाई यस्तै अन्धो बनाएर यो संसारमा पठाए अब बाँकीको भाग्य त म आफैले बनाउदैछु । कति महान छन् उनका शब्द ।

त्यस्तै गोरखाका लोकेन्द्र भट्ट तेह्र वर्ष पहिले काठमाडौ छिरेका हुन् । उनको दिनचार्य पनि यसरी नै बितिरहेको छ । उनी एउटा सानो झोलाभरी धुप लिएर हरेक दिन जसो सुन्धारा अगाडि बस्छन् । बर्षा यामको झरी, दिउँसोको चर्को घाम नभनी उनी यसरी नै धुपको व्यापार गदै आएका छन् ।  ३३ बर्षिय लोकेन्द्र अहिले काठमाडौंको नयाँ बजारमा बस्दै आएका छन् । “पहिले पहिले आवत जावतमा निकै गाह्रो थियो । तर विस्तारै बानी पर्दै गए । आँखा नदेख्नेहरुको पनि आफ्नै संसार हुन्छ । हामीहरु  कुन ठाउँमा आइपुग्यौं भन्ने अन्दाज गर्न सक्छौं । ”

धुप बेचेर दैनिक दुई हजार पच्चिस सय जति कमाई…

आफू जस्तै आपांग साथीहरुले बनाएको धुप बजारमा लगेर बेच्छन् उनी । धेरै जसो सुन्धारा अगाडि नै बस्ने उनी कहिले काही मेला भएको बेला मेलामा पनि धुप लैजान्छन् । उनको दैनिक दुई हजार पच्चिस सय जति कमाई हुन्छ । सडकमा धुप बेच्न बस्दा महानगर पालिकाले धुप समेत उठाएर लैजाने उनी बताउछन् । भन्छन्, “सडकको व्यापार नै हो महानगर पालिका आएर डिस्र्टव गर्छ कहिले उठाएर लग्छ । म त भन्छु हामी जस्तालाई सडकमा बस्न नदिए हामीले कहाँ लगेर व्यापार गर्ने हामीले कसरी जीवन चलाउने । कि त हामीलाई पनि जागिरको व्यवस्था मिलाई दिनु प¥यो,हैन भने हामी पनि बाच्नु पर्ने हुन्छ । सरकारले नै हाम्रा यस्ता समस्या दीर्घकालीन रुपमा समधान गरिदियोस भन्ने हाम्रो अनुरोध पनि छ ।”

बाल्यकालमा उनी देख्न सक्थे पछि आँखाको ज्योती गुमेको बताउछन् । आँखाको उपचार धेरै ठाउँमा गराए पनि ठीक भएन । बिए सम्मको अध्यायन गरेका उनले अबसर पाए कतै कलेजमा पढाउँने इच्छा राखेका छन् । उनले भविष्यमा आफू जस्तै आँखा नदेख्नेहरुका पक्षमा वकालत गर्दै जाने बताउछन् ।

आफ्नो कला,गला र सीपलाई धैर्य भई प्रयोग गर्न सके जस्तोसुकै अवस्थामा पनि स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरणीय पात्र पनि हुन बोहोरा र भट्ट ।