काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले बेरुजु असुली गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले बेरुजु असुलउपरका लागि सहज बनाउन आर्थिक गतिविधिको अर्डिटलाई छुट्टै ढंगले गरिदिन महालेखा परीक्षकको कार्यालयलाई आग्रह गरे ।
महालेखा परीक्षकको कार्यालयले कार्य सम्पादनसम्बन्धि कुरालाई आर्थिक गतिविधिको अर्डिटसँग मिसाउने गरेकाले बेरुजु असुलीमा समस्या परिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
शुक्रबार संघीय संसदको अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै अर्थमन्त्री खतिवडाले संघ, प्रदेश र स्थानीय तहको विनियोजित बजेटको खर्च प्रणालीलाई पारदर्शी बनाउन सरकार लागि परेको बताए। उनले सोही कामको लागि कानुनी व्यवस्था गर्न सरकारले सो विधेयक संघीय संसदमा पेश गरेको जनाए ।
अर्थमन्त्री खतिवडाले विधेयकमा संघ, प्रदेश र स्थानीय तहको विनियोजित बजेट कार्यान्वयनका लागि जवाफदेही बनाउने प्रावधान राखिएको उल्लेख गरे । विधेयकमा वित्तीय उत्तरदायित्व पूरा नगर्ने कुनै पनि निकायमाथि कडा कार्वाही गर्ने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाको दावी छ ।