काठमाडौं – नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।
मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । प्रहरीका अनुसार शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेको र उसकै सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेको जनाईएको छ ।
पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताएको छ ।