logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै


अंकुरण खबर
1.443K
Shares

काठमाडौं – ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन् । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने मान्यता छ ।

स्नानपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ ।

सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो । ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा विशेष मेला लागेको छ ।