काठमाडौं – काठमाडौंको गौशालास्थित भण्डारखाल जङ्गलमा खोटाङका एक जोडीले आत्महत्या गरेका छन् । खोटाङकी एक महिला र पुरुषले मंगलबार बिहान आत्महत्या गरेका हुन् ।
खोटाङको दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१० घर भई बाँसबारीमा बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाई एकै रुखमा झुण्डिएको अवस्थामा भेटिएको गौशाला प्रहरीले जनाएको छ ।
मर्निङ वाकमा निस्केका स्थानीयले दुवैजना झुन्डिएको देखेपछि प्रहरी घटनास्थल पुगेको हो । प्रहरीले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाएको छ । दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । उनीहरु दुवैजना खोटाङ कारागार कैद भुक्तान गरेर निस्किएको खुलेको छ ।
बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदुर हुन् । गिरी सोमबार बेलुका पशुपति घुम्न जाने भन्दै निस्किएका खुलेको प्रहरीले जनाएको छ । जेलबाट छुटेर खोटाङमै बसिरहेकी उमिता काठमाडौं आएको कारण नखुलेको प्रहरीले जनाएको छ । उमिता काठमाडौंमा दिदी भेनाजुको कोठामा बस्दै आएकी थिइन्।