काठमाडौं – संचारकर्मी रवि लामिछाने र सहकर्मी युवराज कँडेलले उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका छन् ।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उनीहरुले हेटौंडामा आज निवेदन दर्ता गराएका हुन् ।
जिल्ला अदालत चितवनले पुडासैनीको आत्महत्याको दूरुत्साहन अभियोगमा रविलाई ५ लाख र युवराजलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग गर्दै इजलास पुगेका हुन् ।
लामिछाने र कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् । लामिछानेको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले भोलि प्रारम्भिक सुनुवाई गर्ने बताईएको छ ।