काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई छानबिन गर्ने भएको छ ।
त्यसक्रममा आज ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको छ । ५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको अख्तियारले जनाएको छ । बयानका लागि बोलाइएका मध्ये दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन ।
कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदार बाहेक बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो ।