logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पत्रपत्रिकामा छापिएका मूख्य खबरहरु


अंकुरण खबर
1.027K
Shares

मेलम्चीको सम्पूर्ण काम ठप्प, वार कि पारको अन्दोलनमा संघर्ष समिति

सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ । यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले बुधबारदेखि आयोजनाको काम ठप्प पारी आन्दोलन थालेको हो ।

आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेपछि उसको करारमा रहेको लोकल भेन्डर, सब–कन्ट्राक्टर, स्थानीय मजदुरले भुक्तानी पाउनुपर्ने मुख्य माग समितिले राखेको छ ।

समितिले दुई महिनाअघि पनि आयोजनाको काममा अवरोध गरी आन्दोलन गरेको थियो । पछि सरकारले निर्णय गरेर उक्त समस्याको समाधान गर्ने आश्वासन पाएपछि समितिले आन्दोलनलाई स्थगित गरेको थियो ।

दुई महिनासम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनुपरेको समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए । ‘हामी हाम्रो मागप्रति कठोर छौं । काम गरेको भुक्तानी पाउनुपर्ने मुख्य माग हो । हामीले दोस्रोपटक आज (बुधबार)बाट फेरि आन्दोलन थाल्यौं’, उनले भने– ‘यो वार कि पारको आन्दोलन हो । ’
बैंक ग्यारेन्टी २ अर्ब १० करोड, डेढ अर्बको सम्पत्ति सीएमसीको रहेकाले त्यहींबाट ठेकेदारलाई भुक्तानी दिनुपर्ने समितिको माग छ । निर्माण कम्पनी, स्थानीय भेन्डर, मजदुर गरी १ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी लिनुपर्नेछ । स्थानीय भेन्डरको साढे १६ करोड, ८ सय जना स्थानीय मजदुरको साढे ८ करोड रुपैयाँ रकम भुक्तानी हुनै बाँकी छ ।
यो समाचार नेपाल समाचारपत्रमा सुरेश तमाङले लेखेका छन् ।

डेङ्गु बढ्यो, राजधानीसमेत जोखिममा

वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।
पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठमाडाँैं उपत्यकामा डेङ्गुका बिरामी बढ्न थालेका छन् भने चिकित्सक तथा नर्सहरूमा समेत डेङ्गु सङ्क्रमण देखिन थालेको छ । डेङ्गुको उच्च जोखिम बढेपछि नियन्त्रणका लागि सरोकार निकाय क्रियाशील भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकार सबै पक्ष मिलेर डेङ्गुविरुद्ध अभियान चलाउन आह्वान गरेको छ ।
नेपालको एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई चिकित्सक, तीन नर्स, तीन कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेङ्गुको सङ्क्रमण भएको छ । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंँमा डेङ्गु उच्च जोखिमका रूपमा देखा परिसकेको जानकारी दिँदै सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
दुई जना डाक्टरसहित नर्स, पारामेडिक्स र कार्यालय सहयोगीसम्मलाई डेङ्गुको सङ्क्रमण भइरहेको जानकारी दिँदै उहाँले थप्नुभयो, “तीमध्ये एक जना डाक्टर काममा फर्कन थालिसक्नुभयो, अर्का एक जना भने उपचारपछि घरमै आराम गरेर बस्नुभएको छ ।” नर्स, पारामेडिक्स लगायतको टेकु अस्पतालमै उपचार भइरहेको छ ।गाेरखापत्रमा खबर छ ।

के तपाईँले अरुको नामको सिमकार्ड प्रयोग गर्नुभएको छ ?

काठमाडौँ-अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।

प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए ।

‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने ।

प्राधिकरणका अध्यक्ष खनालले तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको त्यस विषयमा पछि निर्णय गर्ने उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा विजय तिमिल्सिनाले लेखेका छन् ।

विप्लवको चन्दा आतंक, बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो।

पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियान सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाएको र चेतावनीयुक्त सन्देश आउन थालेको व्यवसायी बताउँछन्।

‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपतिवर्ग र भ्रष्टहरूको निशानामा रहेको’ भन्दै चन्द नेतृत्वको नेकपाले चन्दाको दबाब बढाएको छ। ‘उक्त दलका कार्यकर्ताले तारन्तार धम्कीयुक्त सन्देश पठाइरहेका छन्,’ एक बहुराष्ट्रिय कम्पनीका प्रबन्ध निर्देशकले भने।

सरकारले भने विप्लवलाई चन्दा नदिन व्यवसायीलाई आग्रह गरेको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लवलाई चन्दा नदिन र धम्की आएमा सरकारलाई सूचना दिन आग्रह गरेका छन्। सरकारले व्यवसायीलाई सुरक्षा दिने वचन दिए पनि शृंखलाशद्ध आक्रमण र विस्फोटका घटनाका कारण व्यवसायी त्रस्त छन्। अन्नपूर्ण पाेस्टमा खबर छापिएकाे छ ।

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो

दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। आजको अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो। दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए।

तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो। नेपालगन्ज उपमहानगरले गठन गरेको छानबिन टोली मंगलबार दैलेख पुगेको थियो। टोली फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो। जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन् ।

टिकट बेच्न नसकेपछि काठमाडौँ–ओसाका ३ उडान रद्द

नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् ।

निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो ।

‘कजोर लोड भएका कारण साताका तीन दिन हुने उडान दुई दिनमा झारिएको छ,’ उनले भने,‘दसैंको सिजन सुरु भएपछि तीन दिन नै उडान हुनेछ ।’
निगमले उडान रद्द गरेको कारणसहित जापानस्थित सिभिल एभियसन ब्युरो(जेक्याब’लाई इमेल पठाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

भदौ २३ गतेदेखि सहुलियत पसल

सरकारले चाडबाडलाई लक्ष्य गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीले पनि छुट दिनेछन् । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।