काठमाडौं – पर्वतमा दुई समूहबीच भएको कुटाकुटमा दुई जना घाइते भएका छन् । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरीले जानकारी दिएको छ ।
आपसी झडपमा घाइते भएका कुश्मा–५ का आस्विन क्षेत्री र कुश्मा–६ का आदित भण्डारीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।