काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केही समय यता प्रतिगमन र प्रतिगामीहरुले टाउको उठाउन खोजेकाले राजनीतिक परिवर्तनका पक्षधरहरु एकजुट र सचेत रहनुको विकल्प नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका बिषयक सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्रमाथि आक्रमण बढिरहेको बताए । दाहालले मुलुकका तीनै तहको सत्ता सञ्चालन गरेका जनप्रतिनीधिले समयमा नै राम्रो काम नगरे प्रतिगामीले मौका पाउने खतरा देखिन लागेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस सभापति शेरवहादुर देउवाले दलितलाई अधिकार दिलाउने सवालमा आफूले बिगतमा राजनीतिक पार्टी भित्र पहिलोपटक समावेशिता लागु गरेको बताए । देउवाले सरकारले दलित अधिकार स्थापित गर्ने सन्दर्भमा कुनै कानुन बनाउन चाहेमा कांग्रेसको साथ र समर्थन रहने बताए ।
यता, समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए । दुई दिनसम्म चल्ने सो भेलामा संघीय संसदका दुवै सदन, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुको सहभागिता छ ।