काठमाडौं – वीरगञ्जमा विद्यालय जाने क्रममा एक छात्रामाथि आज विहान एसिड प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया कि मुस्कान खातुनमाथि छिमेकी युवकले एसिड प्रहार गरेका हुन ।
त्रिभुवन हनुमान माध्यमिक विद्यालय जाँदै गर्दा खातुनलाई सीता अस्पतालको गल्लीमा समसाद र उनका साथी मजिद आलमले विहान छ बजेतिर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारमा सग्लन युवक समसाद मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आलम फरार रहेकाले खोजी भैरहेको छ । १५ वर्षीया खातुन त्रिभुवन हनुमान माबिको कक्षा नौ कि छात्रा हुन् ।
एसिड प्रहारवाट छात्राको अनुहारको दायाँ भाग र हात जलेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । एसिड प्रहारको कारण खुलेको छैन । प्रहरीको अनुसार एकपक्षीय प्रेमका कारण सो घटना भएको हुनसक्ने अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।