logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सडक दुर्घटनामा परी एक प्रतिभाशाली कलाकारको निधन


अंकुरण खबर
2.21K
Shares

काठमाडौं – सडक दुर्घटनामा परी अर्घाखाँची मालारानी-९ गोखुङगा सेपानीका २५ वर्षीय लेखबहादुर पुन (एल.बि) को मृत्यु भएको छ । बिहीबार साँझ ललितपुरबाट बा ८६ प ७५० नम्बरको मोटरसाइकल चढेर सुन्धारा आउँदै गरेका (एल.बि) पुनलाई पछाडिबाट आउँदै गरेको बा १ ग २४५६ नम्बरको नेपाली सेनाको गाडीले काठमाडौंको त्रिपुरेश्वरमा ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते पुनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति निधन भएको मृतकका आफन्तले जनाएका छन् । नेपाली लोक, कला संस्कृतिमा सात वर्ष बिताइसकेका एक अभियन्ता पुनले काठमाडौंमा बसेर लोक दोहोरी, नृत्य र अभिनयमा सक्रिय भुमिका खेलेका थिए । मृतक पुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल बानेश्वर-कोटेश्वर समितिका सहसचिव समेत हुन् ।

अहिले पुनको सवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा राखिएको छ । अहिले टिचिङ हस्पिटलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीसहितको नेपाली कलाकारको टोली पुगेको छ । ठक्कर दिने चालक र गाडीलाई जनसेवा प्रहरी बिट विशाल बजारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उचित क्षतिपूर्ति उपलब्ध नभएसम्म शव नबुझ्ने मृतकका आफन्तले जनाएका छन् ।

कलाकारिता क्षेत्रलाई व्यावसायिक रूपमा अङ्गाल्दै आएका र अर्घाखाँचीकै शिर उच्च राखेका एक बहुप्रतिभाशाली व्यक्तित्व भएका पुनको निधनले देशकै कलाकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले एक प्रतिभा शाली कलाकार गुमाएको छ ।