logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज नेपाल आउँदै


अंकुरण खबर
2.379K
Shares

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । १९ सदस्यीय टोलीको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।

पाकिस्तान हुँदै नेपाल आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने भनिए पनि मिति निश्चित भइसकेको छैन । विदेशमन्त्री वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने  छ ।

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ -बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन-काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने  छ ।

वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।