logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा आजबाट विद्युतीय बस सञ्चालनमा, रक्षामन्त्री पोखरेलले शुभारम्भ गर्ने


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – काठमाडौं उपत्यकामा सोमबार (आज) बाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ । आज दिउँसो १ बजेदेखि चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको हो ।

उक्त बसको शुभारम्भ उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । मध्याह्न १२ बजे भृकुटीमण्डपबाट यसको शुभारम्भ हुने सुन्दर यातायातले जानकारी दिएको छ ।

थप ५ वटा बस ल्याउने प्रक्रियामा रहेको जनाएको छ । सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ । विद्युतीय बसलाई काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति दिइएको छ ।

सुन्दर यातायात प्रालिका अनुसार यो वर्षभत्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाइएको छ । बस ४० सिट क्षमताका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बस ल्याउने तयारी गरेको छ ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ । त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ । हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिएको छ ।

कम्पनीका अनुसार विद्युतीय बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन् । यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ । त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ । यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने छ ।