काठमाडौं – यस वर्षको इन्द्रजात्रा पर्व आजबाट विधिवत् रुपमा सुरु भएको छ । इन्द्रजात्रा महोत्सव मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्तिअगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याइएको हो ।
लिंगोसँगै काठमाडौं शहरको रक्षाका लागि भन्दै चार कुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतिक पनि ठड्याइएको छ । इन्द्रजात्रा शुरु भएको प्रतिकस्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्रलगायत अरु ठाउँमा सानो लिंगो ठड्याउने गरिन्छ । लिंगो ठड्याएको आठ दिनसम्म इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।
इन्द्रजात्रा पौराणिक कालदेखि नै मनाउँदै आएको भएपनि काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौंको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत स्थानमा मनाइन्छ ।